जेठ २४, २०७८ सोमबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेदरल्याण्ड र सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको जर्जियाबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्याण्डले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नेदरल्याण्डले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको छ । 

नेदरल्याण्डको जितमा मेम्फिस डिपाए, वाउट वेगह्स्ट र रायल ग्राभेनवर्चले समान १/१ गोल गरे । 

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेदरल्याण्डले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । उसका लागि खेलको १०औं मिनेटमा मेम्फिसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । र पहिलो हाफभरि १-० गोलको अग्रता बनायो ।

त्यस्तै दोस्रो हाफको खेलको ५५औं मिनेटमा वाउटले गोल गर्दै नेदरल्याण्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा रायन ग्राभेनवर्चले गोल गर्दै नेदरल्याण्डलाई ३-० गोलको जित दिलाए ।

समूह सी मा रहेको नेदरल्याण्डले १४ जुनमा युक्रेन सँग प्रतिस्पर्धा गर्दै युरो कपको सुरुवात गर्नेछ ।