एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट तथा एसियन कप २०२३ को छनोट खेलमा एसियाली पावर हाउस जापाने लगातार आफ्नो सातौं खेलमा फराकिलो जित निकालेको छ । जापानले ताजिकिस्तानमाथि ४–१ को फराकिलो जित हात निकालेको हो
जापानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली जापानको जितमा क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्तो हासीमोतो र हायाओ कावावेले गोल समान १/१ गोल गरे । यता ताजिकिस्तानका एक्सोनी पान्डसान्वीको एक गोल सान्त्वना फर्काए । पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको जापानले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।
सुइटा सिटी फुटबल स्टेडियम सइटा जापानमा सोमबार भएको खेलमा घरेलु टोलीले खेलको छैटौ मिनेटमा क्योगो फुरुहासीको गोलबाट अग्रता लिएको थियो । तर जापानको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा एक्सोनी पान्डसान्वीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ४०औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । यस्तै दोस्रो हाफको खेलको ५१औं मिनेटमा केन्तो हासीमोतोले गोल गर्दै जापानलाई ३–१ ले अघि बढाए । त्यसपछि खेलको ७१औं मिनेटमा हायाओ कावावेले गोल गर्दै जापानलाई ४–१ को फराकिलो जित दिलाए ।
उक्त जितसँगै समूह ‘एफ’ मा अपराजित रहेको जापानले ७ खेलबाट २१ अंक जोड्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । शुरुवाती ६ खेलमा क्लिन सिट राखेको जापानले सातौ खेलमा क्लिन सिट राख्न सकेन । जापानले विपक्षी टोलीविरुद्ध ३९ गोल गर्दा १ गोल मात्रै खाएको छ । यही समूह ‘एफ’को अर्को खेलमा मंगोलियाले किर्गिस्तानमाथि १–० को महत्वपुर्ण जित निकालेको छ ।