साउन २३, २०८० मंगलबार

लुम्बिनी, २३ साउन:  लुम्बिनी विकास कोषले निपनिया दानव नदी किनारमा देखिएको प्राचीन इनार तथा अन्य पुरातात्विक संरचनाको स्थलगत अनुगमन गरेको छ । 

बुद्ध जन्मस्थल लुम्बिनीबाट सात किमी दक्षिण निपनिया दानव नदी किनारमा फेला परेको कुषाणकालीन माटोद्वारा निर्मित मानिने इनार तथा पुरातात्विक संरचनाको कोषका सदस्यसचिव सानुराजा शाक्यको नेतृत्वमा स्थलगत निरीक्षण गरिएको हो । सदस्यसचिव शाक्यले सो क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको उक्त इनारलाई उत्खनन गरिने बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवा, माटाका भाँडा बगाउन थालेको जनाउँदै स्थनीयले विकास कोषलाई जानकारी गराएपछि कोषले चासो राखेको हो । विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेष भेटिएकाले स्थलगतरूपमा निरीक्षण गरिएको सदस्यसचिव शाक्यले बताउनुभयो ।

उहाँले दानव नदीको कटानले इनार (रिङ)हरू बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उत्खनन गरी लुम्बिनी सङ्ग्रहालयमा राख्ने तयारीमा रहेको बताउनुभयो । “नदीको कटानले प्राचीन समयका देखिने महत्त्वपूर्ण इनार, माटाका भाँडा बगाएर भारत लगिरहेको छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय, प्रदेश र पुरातत्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।” सदस्यसचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भएअनुसारकै प्राचीन बस्ती रहेको अनुमान गर्न सकिने बताउनुभयो ।

स्थलगत निरीक्षणपछि कोषका पुरातत्व विभागका प्रमुख हिमालकुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्त्वपूर्ण वस्तु बाढीले बगाउँदै लगेको र यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्वार उत्खनन गरी सङ्ग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताउनुभयो । “प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, बाढीले बगाइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ रहेको इनारलाई यो पटक उद्वार उत्खनन गर्छौँ ।”
 
उहाँले पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेको बताउँदै भारतका पुरातत्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धिष्ट साइटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रूपमा व्याख्या गरेको बताउनुभयो । उहाँले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।