जेठ २५, २०७८ मंगलबार

एजेन्सी । साविकको विजेता ब्राजिल दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्न तयार भएको छ । मङ्गलबार ब्राजिल फुटबल महासङ्घका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टोलीले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेका हुन् ।

यसअघि ४७औं संस्करणको कोपा अमेरिका ब्राजिल सरेपछि ब्राजिलियन खेलाडीले निराशा पोख्दै नखेल्ने जनाएका थिए । अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा आयोजना हुने तय भएपनि कोलम्बियाले राजनैतिक अस्थिरताका कारण देखाउँदै र अर्जेन्टिनाले कोरोना भाइरसको महामारीको कारण देखाउँदै कोपा अमेरिका आयोजना नगर्ने जनाएको थियो ।

त्यसपछि कन्मेबोलले ब्राजिललाई जिम्मा दिएको थियो । कोरोना महामारीबाट ग्रसित ब्राजिलका खेलाडीले अन्तिम समयमा आफ्नो देश सारेको भन्दै विरोधस्वरूप कोपाबाट नाम फिर्ता लिने चेतावनी दिएका थिए । त्यसपछि ब्राजिलले कोपा अमेरिकामा सहभागिता जनाउने विषय अन्यौल भएको थियो ।

तर कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् । उनले सन् २०२१ को कोपा अमेरिका आयोजना गर्न आफूहरू तयार भएको जनाएको थियो । रियो द जेनेरियो, ब्राजिलिया, माटो ग्रोस्सो र गोयास गरी चार रङ्गशालामा कोपा अमेरिका आयोजना हुने बताइएको छ ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने कन्मेबोलले जनाएको छ । कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिलले भेनेज्वेलासँग खेल्ने छ । १३ जुनमा हुने प्रतियोगिताको उद्घाटन खेल ब्राजिलिया स्टेडियममा हुनेछ ।