एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत ब्राजिलले पराग्वेमाथि २–० गोलको जित निकालेको छ । बुधबार बिहान घरेलु टोली पराग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र लुकास पाक्वेटाले १–१ गोल गरे ।
जारी खेलको चौथो मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । त्यस्तै खेलको इन्ज्युरी समयमा पाक्वेटाले गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए ।
उक्त जितसँगै विश्वकपको छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ शीर्ष स्थानमा रहेको उसले ६ खेलमा १८ अङ्क जोडेको छ । पराग्वे भने सात अङ्कसहित छैटौँ स्थानमा छ ।