साउन ३२, २०८० बिहिबार

काठमाडौँ, ३२ साउन : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

आज उक्त मुद्दामा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी तोकिएको छ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि उनीविरूद्धको मुद्दाको सुनुवाइ रोकिएको थियो। स्वदेश फर्किएलगत्तै उनीविरूद्धको मुद्दामा सुनुवाइ सुरू हुन लागेको हो।

सर्वोच्च अदालतले गत फागुन १५ गते उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन आदेश दिएको थियो। त्यसपछि कैयौं पटक पेसी तोकिए पनि सुनुवाइ स्थगित भएका थिए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध नाबालिगलाई गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दा परेको छ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।

क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।