एजेन्सी । २०२० को युरो कप फुटबलको तयारीमा रहेको पोर्चुगल र सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको इजरायलबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित निकालेको छ । बिहिबार बिहान सम्पन्र भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले पराजित गरेको हो ।
पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो र जोए कान्सेलोले समान १/१ गोल गरे । खेलको ४२औं मिनेटमा कान्सेलोको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ४४औं मिनेटमा ब्रुनोकै पासमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–० गोलको अग्रता दिलाए । 
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । दोस्रो हाफको खेलको ८६औं मिनेटमा जाओ कान्सेलोले गोल गर्दै पोर्चुगललाई ३–० गोलले अगाडि बढाए । त्यसपछि खेलको अन्तिम मिनेटमा ब्रुनो फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० गोलको शानदार जित दिलाए । 
पोर्चुगलले जुन १५ मा हंगेरीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । पोर्चुगलको समुहमा हंगेरी, फ्रान्स र जर्मनी रहेका छन् । यस समूहलाई ‘ग्रुप अफ डेथ’को रुपमा हेरिएको छ । त्यस्तै यस खेलमा गोल गरेका कप्तान रोनाल्डोले आफ्नो खेल करिअरकौ अन्तर्राष्ट्रिय गोल संख्या १०४ पुगेको छ । उनि सर्वाधिक गोल कर्ताको सुचिमा दोस्रो स्थानमा रहेका छन् । उनि भन्दा अघि इरानका अलि दाई रहेका छन् । उनको १०९ गोल रहेको छ । 