काठमाडौं । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो । अष्ट्रेलियाको जितमा म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले १/१ गोल गरे ।
खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाएका थिए ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।
त्यसपछि दोस्रो हाफको खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३-० को जित दिलाए ।
उक्त जित सँगै अष्ट्रेलियाले कुल ७ खेलबाट २१ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । यता पराजित नेपालको भने ८ खेलबाट ६ अंकसहि पाँचौं स्थानमा रहेर छनोट चरणको खेल समाप्त गरेको छ ।