विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासंग ३–० ले पराजित बनेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताईरीले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताएका छन् ।
‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सिमित बनेपनि केही फरक परेन । खेलाडीले हर समयमा मिहेनत गरेर खेले ।’ अलमुताईरीले खेलपछि पत्रकारहरुसॅंग भने ।
पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सिमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । सो अवस्थामा नेपाल २–० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोलमात्र ब्यहोर्यो ।
प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियासामु नेपालको यस प्रदर्शनलाई सम्मानजनक रहेको बताए ।
नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासंग ५–० ले पराजित बनेको थियो ।
अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे ।‘उनीहरु एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पुरा भएको छैन ।’ उनले भने ।