काठमाडौं । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा कुवेत र जोर्डन बराबरीमा रोकिएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शनिबार बिहान सम्पन्न भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टोली कुवेत पाहुना टोली जोर्डनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । तर दोस्रो हाफको खेलको ५९औं मिनेटमा घरेलु टोली कुवेत १० खेलाडीमा समेटियो । उसका खालिद एल इब्राहिमले रातो कार्ड पाउँदै मैदान जोडेका थिए ।
उक्त बराबरी सँगै समान ७ खेलबाट जोर्डन १४ अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ । त्यस्तै कुवेत ११ अंकसहित तेस्रो स्थानमा रहेको छ । यता शीर्ष स्थानमा रहेको अष्ट्रेलियाको ७ खेलबाट २१ अंक र चौथो स्थानमा रहेको नेपालको ८ खेलबाट ६ अंक र अंक बिहिन चाइनिज ताईपेइ पुछारमा रहेको छ ।