एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा बेल्जियमले रसियामाथि ३–० गोलको शानदार जित निकालेको छ ।
शुक्रबार बिहान रसियामा सम्पन्न भएको खेलमा बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले २ गोल गरे भने यस्तै थोमस मुनियरले एक गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो ।
खेलको दसौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३४औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । र पहिलो हाफभरि २-० गोलको आरामदायी अग्रता बनायो ।
त्यसपछि खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।
उक्त जितसँगै बेल्जियमले युरो कपमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको बेल्जियम महत्त्वपूर्ण ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।