एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका आजबाट सुरु हुँदै छ ।
ब्राजिलमा आयोजना हुन लागेको कोपा अमेरिका आजबाट सुरु हुन लागेको हो । आज हुने उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साविक विजेता ब्राजिलले भेनेज्वेलासँग खेल्नेछ । नेपाली समयानुसार राति २ः४५ बजे ब्राजिलको राष्ट्रिय रङ्गशालामा हुनेछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।
त्यस्तै यो प्रतियोगिता यसअघि अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा आयोजना हुने तय भएपनि कोलम्बियाले राजनैतिक कारण देखाउँदै र अर्जेन्टिनाले कोरोना भाइरसको महामारीको कारण देखाउँदै कोपा अमेरिका आयोजना नगर्ने जनाएको थियो । त्यसपछि ब्राजिलमा नै हुने तय भएको हो ।
अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका समूह ‘ए’मा अर्जेन्टिना, चिली, बोलिभिया, पराग्वे र उरुग्वे रहेका छन् । समूह ‘बी’ मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन् ।