एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा नेदरल्याण्डले युक्रेनमाथि ३–२ गोलको जित दर्ता गरेको छ ।
सोमबार बिहान आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा नेदरल्याण्डलाई जिताउन जर्जिनियो विज्नाल्डम, वेट वेघोर्स्ट र डेन्जल डुम्फ्राइनसले समान १/१ गोल गरे । यता युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले १/१ गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर दोस्रो हाफको खेलको ५२औं मिनेटमा विज्नाल्डमले गोल गर्दै नेदरल्याण्डलाई सुरुवाती अग्रता दिलाए । ५८औं मिनेटमा वेघोर्स्टले गोल गर्दै घरेलु टोललीको अग्रता दोब्बर बनाए । खेलको ७५औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काउने कोसिस गरे ।
७९औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई बराबरीमा फर्काए । तर ८५औं मिनेटमा डुम्फ्राइसले गोल गरेपछि नेदरल्याण्ड ३–२ गोलले विजयी बन्यो । उक्त जितसँगै नेदरल्याण्डले युरो कपमा सुखद सुरुआत गरेको छ । समूह ‘सी’को नेदरल्याण्डले ३ अङ्क जोडेको छ ।