असार १, २०७८ मंगलबार

 एजेन्सी । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार मानिएका टोलीद्वय अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।

मङ्गलबार बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा सम्पन्र भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । उक्त अग्रता जोगाउन नसक्दा चिलीसँग अङ्क बाँडेको हो । कप्तान लियोनल मेस्सीले खेलको ३३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १० गोलले पछि परेको चिलीले दोस्रो हाफको खेलको ५७औं मिनेटमा इडुआर्डो भर्गसले गोल गर्दै चिलीलाई खेलमा फर्काए । भर्गसको गोल हुनुभन्दा थोरै समयअघि मात्र चिलीले पेनाल्टीको मौका पाएको थियो, जसमा अर्टुरो भिडाल असफल बनेका थिए ।

त्यसछि बाँकी समय थप गोल नहुँदा अर्जेन्टिना र चिलीले एक–एक अङ्क बाँडे । उक्त सँगै समूह ‘बी’का अर्जेन्टिना र चिलीले एक–एक अङ्क जोडेका छन् । उक्त समूहमा उरुग्वे, पराग्वे, पेरु र बोलिभिया पनि छन् ।