असार १, २०७८ मंगलबार

एजेन्सी । १६औं संस्करणको युइएफए युरो कप फुटबल प्रतियोगितामा पोल्यान्ड स्लोभाकियासँग पराजित भएको छ ।

सोमबार राति रसियास्थित क्रेस्टोभ्स्कीमा भएको खेलमा स्लोभाकियासँग पोल्यान्ड २–१ गोलले पराजित भएको हो । स्लोभाकियाको जितमा मिलान स्क्रिनियरले एक गोल गरे । स्लोभाकियाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । पोल्यान्डका कारोल लिनेट्टीले एक गोल गरे । खेलमा स्लोभाकियाले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

१८औं मिनेटमा वोजचेइक स्जेन्सीले आफ्नै पोस्टमा गोल गरेपछि स्लोभाकियाले अग्रता बनायो । त्यस्तै पहिलो हाफको खेलको ४६औं मिनेटमा लिनेट्टीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । तर दोस्रो हाफको खेलको ६२औं मिनेटमा ग्रिजेगर्ज क्रिचौइकले रातो कार्ड पाएपछि पोल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो ।

त्यसको फाइदा उठाउँदै स्क्रिनियरले गोल गर्दै स्लोभाकियालाई २–१ गोलले जिताए । उक्त जितसँगै स्लोभाकिया समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ अङ्क जोडेको छ । उक्त समूहमा स्पेन एक अङ्कसहित दोस्रो स्थानमा छ भने समान अङ्क जोडेको स्विडेन तेस्रो स्थानमा छ । यता, अङ्कविहीन पोल्यान्ड उक्त समूहको पुछारमा छ ।