असार २, २०७८ बुधबार

एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डो शानदार प्रदर्शन जारी १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा साविक विजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित हो ।

पाहुना टोली पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ गोल तथा राफायल गुइरेरोले १ गोल गरे । 

पुस्कास एरिनामा घरेलु टोली हंगेरीविरुद्ध पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पोर्चुगलले ३ गोल गर्न सफल भयो । पोर्चुगलले दोस्रो हाफको अन्तिम १० मिनेट भित्र ३ गोल गरेको हो । 

दोस्रो हाफको खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० गोलको दिलाए ।

हंगेरीका विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए । उनले राफा सिल्भाको पासलाई सदुपयोग गरे ।

उक्त हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । 

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि २००४ मा २ गोल गरेका थिए । त्यसपछिको ३ संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।

उक्त जित सँगै पोर्चुगलले जारी युरो कप सुखद सुरुवात गरेको छ । उसले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।