असार २, २०७८ बुधबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई पराजित गरेको छ ।

बुधबार बिहान सम्पन्न भएको खेलमा जर्मनीलाई १-० ग‍लले स्तब्ध पार्दै फ्रान्स सुखद सुरुवात गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पाउल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।

पहिलो हाफ भरि १-० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफको खेलको ६६ औं मिनेटमा एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर गोल गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन । 

त्यसपछि खेलको ८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएन । र बाँकी समय थप गोल हुन नसक्दा फ्रान्स विजयी भयो । 

उक्त जित सँगै समूह एफको खेलमा फ्रान्सले महत्त्वपूर्ण ३ अंक बनाउँदा प्रतियोगिताको सुखद सुरुवात गरेको छ । ऊ दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोल अन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश: पुछारको दुई स्थानमा छन् ।