काठमाण्डौ। चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा नेपाल प्रवेश गरेको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रारुप अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो ।

विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ । सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान रहेको थियो । यसै अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन् ।
यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।
