एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसले स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिडबाट लोनमा ल्याएका अल्भारो मोरटालाई थप एक सिजन राख्ने भएको छ । युभेन्टसले बुधबार २८ वर्षीय स्पेनिस फरवार्ड मोरटा २०२१–२२ को सिजन पनि टुरिनै बस्ने जानकारी दिएको छ ।
मोरटा सन् २०२० मा लोनमा एक सिजनका लागि युभेन्टस फर्किएका थिए । अब, मास्सिमिलियानो अलेग्रीको पुनरागमन भएपछि मोरटाले एक सिजन थपेका हुन् । उनले २०२१–२२ को सिजन पनि युभेन्टस नै बस्ने निधो गरेपछि एथ्लेटिकोले थप १० मिलियन युरो पाउने छ ।
मोरटाले २०२०–२१ को सिजन युभेन्टसबाट २० गोल गरेका थिए । जुन व्यक्तिगत रूपमा उनको सबैभन्दा सफल सिजन रहेको थियो । तथापि, उक्त सिजन युभेन्टस भने घरेलु लिगको उपाधिबाट चुकेको थियो ।