असार ३, २०७८ बिहिबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा इटालीले स्विट्जरल्यान्डमाथि सकज जित निकालेको छ । बुधबार राति इटालीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले स्विट्जरल्यान्डमाथि ३–० गोलको सहज जित निकालेको हो ।

इटालीको जितमा मानुअल लोकाटेलीले दुई गोल गर्दा सिरो इम्मोबाइलले एक गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

खेलको २६औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ५२औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।

खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा इम्मोबाइलले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

उक्त जित सँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको इटालीले ६ अङ्क जोडेको छ । यो उसको लगातार दोस्रो जित हो । यसअघि उसले टर्कीमाथि समान ३–० गोलको जित निकालेको थियो । स्विट्जरल्यान्ड भने एक अङ्कसहित तेस्रो स्थानमा छ । उसले वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।