एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा वेल्सले पहिलो जित दर्ता गरेको छ । बुधबार राति वेल्सले टर्कीमाथि २–० गोलको जित निकाल्दै युरो कपमा पहिलो जित दर्ता गरेको हो । वेल्सले पहिलो हाफ र दोस्रो हाफमा समान १–१ गोल गरे ।
अजरबैजानमा भएको खेलमा वेल्सलाई जिताउन आरोन राम्से र कनर रोवर्ट्सले समान एक–एक गोल गरे । खेलको ४२औं मिनेटमा ग्यारेथ बेलको पासमा राम्सेले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको खेलको ६१औं मिनेटमा वेल्सले पेनाल्टीको मौका पाएको थियो, जसमा बेल चुक्न पुग्दा वेल्सले आफ्नो अग्रता दोब्बर बनाउने मौका खेर फालेको थियो । तर खेलको इन्ज्युरी समयमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २–० गोलको जित दिलाए ।
उक्त जितसँगै वेल्सले दुई खेलबाट चार अङ्क जोडेर समूह ‘ए’को दोस्रो स्थानमा छ । वेल्सले यसअघि स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो । अङ्कविहीन टर्की भने चौथो स्थानमा छ ।