काठमाडौँ, ४ मङ्सिर : महिला निर्देशकहरुलाइ प्रोत्साहन गर्ने उद्देश्यले आगामी शनिबार अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा संलग्न महिलाहरुको अन्तर्राष्ट्रिय संगठनले काठमाडौँमा महिला चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सव आगामी शनिबारदेखि नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा आयोजना हुने संगठनले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको सहभागिता रहने जनाइएको छ ।
महोत्सवमा नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरू प्रदर्शन गरिनेछ ।
महोत्सवमा सर्ट मुभी कम्पिटिसनका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिनेछ । सन् १९५७ मा आठ फरक राष्ट्रका प्रतिनिधिहरुको उपस्थितिमा स्थापित यस संगठनमा नेपालले भने सन् २००७ मा सदस्यता लिएको थियो ।