रुपन्देही, १८ असोजः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु पाँच लाख एक हजार ३६८ बराबरका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलसहित कपडा, खाद्य सामग्री तथा विभिन्न प्रकारका पटाका, मासु र आतसबाजीका सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगरका विभिन्न क्षेत्रबाट भन्सार छली गरी ल्याइएका ती सामान बरामद भएका हुन् । प्रहरीले चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट भन्सार छली तथा चोरीपैठारी हुनसक्ने भएकाले जिल्लाका विभिन्न नाकामा निगरानी तथा जाँचलाई समेत तीव्रता दिएको जनाएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।