असोज १८, २०८३ आइतबार

काठमाडौँ, १८ असोज : पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आजसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिरहा, काठमाडौँ, चितवन, नवलपरासीपूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन् । यस्तै, तेह्रथुम, भोजपुर, नवलपरासीपूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् ।

त्यसैगरी, ललितपुरमा पहिरो तथा कास्की र रुपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले जनाएको छ । विपद्का घटनामा परी घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार विपद्का घटनाबाट करिब रु २८ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको छ ।

प्राधिकरणले विपद्का घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन तथा विपद्का समयमा स्थानीय प्रशासन, सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ ।