काठमाण्डौं .
नेपाली कांग्रेसले नेपाल–चीन सीमा नाका केरुड सुचारु गर्न माग गरेको छ । गत साल चीनको वुहानबाट कोरोना भाइरस फैलिए लगत्तै अन्तर्राष्ट्रिय आवागमन तथा सीमा नाकाहरुमा प्रवेश कडाइ गरिएको थियो।
त्यो बेलामा परिस्थितिको बाध्यता र आवश्यक कदम भएपनि अब तत्काल उक्त नाका सुचारु गर्नुपर्ने माग कांग्रेसको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारी नाका केरुङ बन्द गरिरहनु उचित नभएको बताएका हुन्।
सो नाका बन्द हुँदा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको भन्दै यसमा सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने चाहेको प्रवक्ता शर्माको भनाइ छ ।
केरुड नाका ०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको थियो । त्यसपछि आंशिक रुपमा खुल्ला गरिएको उक्त नाकावाट दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र रहेको कांग्रेसको विज्ञप्तिमा भनिएको छ।
नेपाली व्यवसायीहरु मर्कामा परेको र राज्यकै राजस्व संकलनमा पनि असर पुगेको तर्फ सरकारको ध्यान जानुपर्ने प्रवक्ता शर्माले बताएका छन् । यस विषयमा चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरी समस्याको समाधान खोज्न सरकारसमक्ष नेपाली कांग्रेसले माग गरेको छ।