असार १५, २०७८ मंगलबार

फाइल तस्बिर

साउदी जाने नेपाली श्रमिकहरूको संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्ने जनाइएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदी जाने नेपाली कामदारको क्वारेन्टिन खर्च वाफतको रकम रोजगारदाता कम्पनीले नै व्यहोर्ने जानकारी साउदी सरकारबाट दूतावासलाई प्राप्त भएको जनाएको छ ।

दूतावासका अनुसार घर बिदामा गएर साउदी फर्किन लागेका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टिनको खर्चका बारेमा आफ्नो कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ । नयाँ आउने श्रमिकहरूको क्वारेन्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेन्टिनको नाममा हुनसक्ने सम्भाव्य ठगीबाट बच्नसमेत दूतावासले सूचनामा भनेको छ । यस्तै सात दिनको संस्थागत क्वारेन्टिन वाफतको करिब ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेन्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन साउदी सरकारलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।

नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने भएपछि अब बिदामा नेपाल गएर पुन: साउदी फर्किने तयारीमा रहेका नेपालीलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । पछिल्लो समय काठमाडौँका ट्राभल एजेन्सीहरूले साउदीमा क्वारेन्टिनका लागि भन्दै एक लाखभन्दा बढी रकम असुल्दै आएका थिए ।

साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्वजनिक गर्दै साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक त्यहाँ पुगेपछि अनिवार्य रूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।