चैत ६, २०८० मंगलबार

काठमाडौँ । निर्देशक प्रदीप भट्टराईले ‘महाजात्रा’ भरपुर मनोरञ्जनले भरिएको फिल्म भएको बताएका छन् । दर्शकका जसरी ‘जात्रा’ र ‘जात्रै जात्रा’ले मनोरञ्जन गराएको थियो । त्योभन्दा बढी यो फिल्मले मनोरञ्जन दिने उनको दाबी छ । त्यसैले फिल्मको नाम ‘महाजात्रा’ राखिएको उनले खुलाए ।

सोमबार आयोजित एक कार्यक्रममा बोल्दै भट्टराइले फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल भएपनि पात्र बाहेक सबै कुरा भिन्न भएको बताए ।

‘हामी पहिले ‘जात्रा’को सिक्वेल बनाउने पक्षमा थिएनौ । एउटा राष्ट्रिय इस्युको कथा थियो । त्यो कथा नयाँ पात्रबाट भन्नुपर्छ भनेर कोसिस गर्यौ’, भट्टराइले भने, ‘काम गर्दै जाँदा प्रमाणित गर्नुपर्ने लाइन जात्राको तीन क्यारेक्टर हाल्दा नयाँ चरित्र ल्याउनु भन्दा बढी न्याय गर्छ भन्ने लाग्यो ।’ उनले ‘महाजात्रा’ फिल्म ‘जात्रा’को ब्याज खान नबेको स्पष्ट परे ।

‘‘जात्रा’ सिक्वेलको सबैभन्दा माथिको फिल्म ‘महाजात्रा’ बनेको छ’, उनले थपे, ‘‘महापुरुष’ राम्रो भएपछि एक आइडिया आएको थियो । त्यो टिममा राखे । त्यहाँ छलफलबाट ‘महाजात्रा’ जन्मियो ।’ ‘महाजात्रा’ तयार गर्न आफूलाई १४ महिना लागेको प्रदीपले सुनाए ।

‘जात्रा’ पैसा र ‘जात्रैजात्रा’मा सुन भेटिएपछि त्यो पचाउन गर्ने तीन पत्रको संघर्षमा बनाएका प्रदीपले ‘महाजात्रा’मा राजनीति घुसाएका छन् । राजनीतिबाट अछुत केही नरहेकोले फिल्ममा राजनीति घुसाएको उनले बताए । भने, ‘नेपालको प्राक्टिक्समा राजनीतिक फिल्म त्यति राम्रोसँग चल्दैन, थाहा छ । त्यसैले राजनीति टच गरेर कमेडी फिल्म बनाएको हो ।’

कार्यक्रममा फिल्मका निर्माता समेत रहेका कलाकार रवीन्द्र सिंह बानियाले फिल्म राम्रो बनेको दाबी गरे । ‘दर्शकले यस अगाडिमा हाम्रो फिल्म मनपराएको कारणले राम्रो फिल्म बनाउँछ भनेर विश्वास गर्नुहुन्छ’, बानियाले भने ‘त्यो विश्वास यो फिल्मले पनि कायम राख्छ ।’ बल, बुद्धी र पैसाले भ्याएसम्म ‘महाजात्रा’ राम्रो बनाउने कोसिस गरेको उनले सुनाए । दर्शकमा ‘जात्रा’ र ‘जात्रै जात्रा’बाट हामीले हासिल गरेको विश्वास फिल्मले टुट्न दिदैन ।

अभिनेता हरिवंश आचार्यले ‘महाजात्रा’ आफ्नो घरको फिल्म भएको बताए । आफ्नो घरको फिल्म भएकोले स्क्रिप्ट नै नहेरी आफूले अभिनय गरेको सुनाउँदै फिल्म राम्रो बनाउने टिम भएकोले फिल्म पनि राम्रो बनेको विश्वास आफूमा रहेको सुनाए । फिल्म हेर्न आफू पनि उत्साहित रहेको बताएका आचार्यले एउटै मितिमा यो फिल्म संसार भर रिलिज हुन लागेकोमा गौरव महसुस भएको सुनाए ।

कलाकार दिव्यदेवले ‘महाजात्रा’ले आफूलाई राम्रो टिमसँग काम गर्ने अवसर मिलेको बताए । उनले फिल्म युनिटसँग काम गर्दाको अनुभव शेयर गर्दै फिल्ममा आफ्नो भूमिका प्रहरी अफिसरको रहेको खुलाए । ‘महाजात्रा’ गराउने टिममा म प्रहरीको रूपमा छिरेको छु । त्यो ‘महाजात्रा’ गराउन मेरो पनि योगदान छ’, उनले थपे ।

कलाकार रवीन्द्र झाले फिल्ममा आफ्नो पात्र पुरानो भएपनि अभिनय नयाँ दिने कोसिस गरेको बताए । उनले ‘जात्रा’को सिक्वेलमा ‘महाजात्रा’ भएकोले आफ्नो अभिनय दर्शकलाई उही लाग्न सक्ने अनुमान लगाए ।

फिल्म ‘जात्रा’ अभिनयपछि आफूलाई फिल्ममा तराइको पात्रको भूमिकाको धेरै अफर आउने गरेपनि नयाँ र फरक अभिनय कसैले गराउन नसकेको गुनासो उनको थियो । ‘मैले क्षमता अनुसार फिल्ममा अभिनय गर्न पाइन’, उनले भने,‘जो पनि एउटै खालको भूमिका अफर गर्छन् । नयाँ गर्न रुचाउँदैनन् ।’ नाटकमा एकसेएक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले फिल्म धेरै अभिनय गरेपनि त्यो प्यास अझै नमेटिएको सुनाए ।

अभिनेता विपिन कार्की काठमाडौँ बाहिरबाट फर्किँदै र अभिनेत्री वर्षा राउत फिल्म ‘मेयर’को सुटिङमा भएकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।  

‘महाजात्रा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । प्रदीप भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्म षट्कोण आर्ट्सको ब्यानरमा बनेको हो ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।