चैत ६, २०८० मंगलबार

काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता, अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा दुवैले नेपाली फिचर फिल्म विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् । विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट अवार्ड हात पार्दा सुरक्षाले ‘बुलाकी’बाट अवार्ड प्राप्त गरिन् । 

समारोहमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड समेत ‘बुलाकी’ले प्राप्त गर्‍यो । फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशक अवार्ड जिते । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्दा फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ‘पखेटा’ले प्राप्त गर्‍यो ।

कार्यक्रममा राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफी भए, भने फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ‘डेसान’ले अवार्ड जित्यो ।

त्यस्तै गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ‘वाइल्ड स्वान’ले जितेको छ । फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ले ‘माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ, भने ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमती अवार्ड हात पार्‍यो ।

‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड, ‘लाजरस पाथ’ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड, ‘एट एनोदर विन्टर’ उत्कृष्ट राष्ट्रिय लघु फिल्म अवार्ड जित्दा ‘ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड पाइन् । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, महोत्सवका निर्णायक, महोत्सव अध्यक्ष केपी पाठक लगायत अवार्ड प्रदान गरे । गत १ गते बिहीबार सुरु भएको निफ ५ दिनसम्म चलेको थियो । यो पटकको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन भएको थियो ।