चैत ७, २०८० बुधबार

काठमाडौं– नायकहरू आर्यन सिग्देल,  प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहने भनिएको फिल्म ‘पुजार सार्की’को छायांकन सकिएको छ । 

निर्देशक दिनेश राउतले ४८ दिनमा छायांकन सकिएको जानकारी दिएका हुन् । उनले छायांकनमा सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवादसमेत दिएका छन् ।

फिल्मको छायांकन कास्कीको कास्कीकोट क्षेत्र आसपासमा गरिएको निर्माण पक्षले बताएको छ ।

जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित फिल्म बनेको निर्देशक राउतको भनाइ छ । 

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा तीन नायकसहित अन्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिका देखिने बताइएको छ । 

फिल्ममा प्रदीप ‘मैत बहादुर’को भूमिकामा देखिने निर्माण पक्षले उनको जन्मदिनको अवसर पारेर खुलासा गरेको थियो । त्यस्तै आर्यन सिग्देलको चरित्र खुल्ने भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका निर्माता सुवास भुसाल हुन् ।