चैत ९, २०८० शुक्रबार

काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान देखिएका छन् ।

टिजरमा झोला बोकेर भौतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थामा देख्न सकिन्छ । क्लोजअपसटमा उनी लामो समयदेखि कसैको खोजीमा रहेको अनुमान गर्न सकिन्छ । 

सहरको छेउमा बस्ने भूईंमान्छेको कथा भन्ने फिल्मको टिजरमा कहिकतै ‘मनसरा’को नाम उच्चारण गरिएको छैन । फिल्मले दयाहाङ, मिरुना, मेनुका र प्रविणको अन्तरसम्बन्धको कथा भन्ने अनुमान गर्न सकिन्छ । 

‘जारी’ जस्तो हिट फिल्म दिएका सुब्बाको यो निर्देशन रहेको दोस्रो फिल्म हो । आगामी वैशाख २१ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, मिरुना, प्रविण र मेनुकाको अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको समेत अभिनय छ ।  निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।