चैत १३, २०८० मंगलबार

धनकुटा, १३ चैत स् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आइपुग्नुुभएका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

    नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयनमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो तहसम्म पुग्ने स्वयंसेविकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले स्वयंसेविकाको सम्मान र प्रोत्साहनका लागि प्रदेशअन्तर्गत १४ जिल्लाका स्वयंसेविकालाई जनही पाँच÷पाँच हजारका दरले रकम वितरण कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कार्कीले सबै जिल्लाका स्वास्थ्य क्षेत्रसँगको छलफल गरेर स्वयंसेविकाका लागि क्षमता विकास, बीमा कार्यक्रम, सेवा सुविधालगायत कार्यक्रम तय गरिने जानकारी दिनुभयो । “अहिले प्रदेश सरकारको पहिलो लक्ष्यमा विकास गर्ने छ”, कार्कीले भन्नुभयो, “मानवीय विकास गरेपछि अन्य भौतिक विकासमा सहज हुने हाम्रो ठहर छ ।”

    महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास पनि यसै मानवीय विकासअन्तर्गत रहेकाले स्वयंसेविकाको सेवासुविधाका लागि छलफल भइरहेको कार्कीले बताउनुभयो । डाक्टर, कर्मचारी सबै एक प्रकारको स्वयंसेवक भएकाले आफ्ना परिवार र बालबच्चा छोडेर अरूको सेवा गर्ने स्वयंसेविकाका लागि उचित सेवासुविधाको कार्यक्रम ल्याइने कार्कीले प्रतिबद्धता जनाउनुभयो ।

    मन्त्री कार्कीलाई स्वयंसेविकाले क्षमता विकास कार्यक्रम, उचित सेवासुविधा थप, अक्षयकोष निर्माणमा सहयोग, सेवानिवृत्त पछिको आर्थिक सहयोगमा वृद्धिलगायत माग राखेका थिए । कार्कीसहित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप सुनवार, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री, योजना तथा आर्थिक मामिला राज्यमन्त्री इन्दिरा थापाको उपस्थिति थियो । 

    मन्त्रीको टोलीलाई नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र राससका महाप्रबन्धक  सिद्धराज राईले सम्मान गर्नुभएको थियो ।