चैत १४, २०८० बुधबार

खोटाङ, १४ चैत :  दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको प्रवेशद्वार अगाडि सवारी साधन बिसौनी (पार्किङस्थल) निर्माणको काम सुरुआत गरिएको छ । कोशी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु २५ लाख लगानीमा पार्किङस्थल निर्माण थालिएको हो । 

सरकारी कामकाजमा आउने सर्वसाधारणलाई लक्षित गर्दै पार्किङस्थल निर्माणको काम सुरु गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । “हेलिप्याडमा अचानक हेलिकप्टर उडान तथा अवतरण गर्नुपर्ने हुन्छ । अहिलेसम्म हेलिप्याडमा आउने एम्बुलेन्स तथा सवारी साधन जथाभावी पार्किङ गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “पार्किङस्थल अभावमा जथाभावी पार्किङ गर्दा दुर्घटना हुनसक्छ । त्यसलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा पार्किङस्थल निर्माणको काम सुरु गरिएको हो ।”

पार्किङस्थलको वरिपरि पर्खाल उठाएर मानिस बस्न मिल्ने ठाउँसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभएको छ । निर्माणाधीन पार्किङस्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय खोटाङ र मालपोत कार्यालयका सेवाग्राहीले पार्किङ गर्न दिइने जनाइएको छ । 


जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्किङस्थल नहुँदा समस्या हुँदै आएको छ । पार्किङस्थल नहँुदा सरकारी कामकाजका लागि दिक्तेल बजार आउने सवारी धनीबीच सडक तथा होटल आसपास पार्किङ गर्दै आएका छन् । 

सडक आसपासमा यत्रतत्र सवारी साधन पार्किङ गर्नाले आवतजावतमा असहज हुने गरेको पाइएको छ । दिक्तेलमा निर्माण गरिएका दुईवटा उपयोगविहीन भइरहेको अवस्थामा जिल्ला समन्वय समितिले निर्माण सुरु गरेको हेलिप्याड सपोटिङ पार्किङस्थललाई निकै महत्वका साथ हेरिएको छ ।

बजार क्षेत्रमा पार्किङ हटाउने उद्देश्यका साथ दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं १ आचार्यगाउँमा दुईवटा बसपार्क निर्माण गरिएका छन् । सात वर्षअघि निर्माण गरिएका दुवै बसपार्क अहिलेसम्म उपयोगविहीन रहेको स्थानीय बासिन्दाले बताएका छन् । 

बसपार्कमा सवारी साधन पार्किङका लागि लैजान प्रहरी प्रशासनले आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारी साधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न गत माघ २३ गते निर्देशन दिएको थियो । 

प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारी साधन पार्किङ गरेको खण्डमा कानुनबमोजिम कारबाही हुने जनाएको थियो । तर, अहिलेसम्म प्रशासनले एउटा पनि सवारी साधनलाई कारबाही गरेको छैन । 

विसं २०७३ मा बनेका दिक्तेलस्थित आचार्यगाउँ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा सवारी पार्किङ गर्दा समस्या भएको जनाउँदै स्थानीय बासिन्दाको विरोधपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गत माघ–२३ गते सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय÷सर्वदलीय बैठकले जिल्लामा सञ्चालित सबै साना तथा ठूला सवारी साधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।