असार २७, २०७८ आइतबार

फाइल तस्बिर

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले सम्मानित गरेका छन् । सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक सञ्जालमार्फत म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी सार्वजनिक गरेका छन् । डा. पुनले जुलाई १० का दिन सम्मान गरेको प्रमाणपत्र प्राप्त गरेका थिए ।

उक्त प्रमाणपत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसीले सापकोटामार्फत पुनलाई पठाएका थिए। पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।  

अमेरिकाको भ्रमणको लागि पुनलाई आमन्त्रित र अमेरिकाको भ्रमणको संयोजनको भूमिका निर्वाह गर्ने सापकोटाले डा. महावीर पुनलाई करिब एक महिनाका लागि विभिन्न राज्यहरूमा नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गराएका थिए ।

४ दिनअघि मात्र अर्थात् जुलाई ६ का दिन पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका थिए । डा . पुनले नेपालका लागि गरेको योगदानस्वरूप उनलाई सम्मान गरिएको हो । अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्राप्त भएको छ ।