बैशाख ४, २०८१ मंगलबार

टेलिभिजन श्रृंखलाका चर्चित कलाकार एवं निर्देशक शंकर आचार्यले नयाँ सिरियल प्रसारणमा ल्याएका छन्। 

'वरिष्ठे' नामले दर्शकमाझ चिनिएका उनले आफ्नै लेखन, निर्माण एवं निर्देशनमा 'विधुवाको सिन्दूर' नामक सिरियलको प्रसारण सुरू गरेका हुन्। 

सामाजिक कथावस्तु प्रस्तुत गरिने 'सेन्टिमेन्टल' सिरियलको पहिलो भाग नयाँ वर्षको अवसर पारेर प्रसारणमा ल्याइयो। अब हरेक शुक्रबार दर्शकले यो सिरियल हेर्न पाउनेछन्। 

'बुहारीको पीडा' ट्यागलाइन राखिएको सिरियलमा शंकरसहित विद्या कार्की, अस्मिता तामाङ, दिप्सन कार्की, हिमाल चौलागाईँ, सुमन पाण्डे, लक्ष्मी थापालगायत कलाकारको अभिनय छ। 

शुक्रबार बेलुका हिमालय प्रिमियम टेलिभिजनसहित 'वरिष्ठे इन्टरटेन्मेन्ट' युट्युब च्यानलमा सिरियल प्रसारण हुनेछ। 'विधुवाको सिन्दूर' मा राहुल राईको छायांकन, सुजित श्रेष्ठ र राजेन्द्र मानन्धरको सम्पादन एवं कलरिङ छ। 

शंकर आचार्य कमेडी टेलिशृंखला 'भद्रगोल' को सुरूवाती समयका निर्देशक समेत थिए। सोही सिरियलबाट 'वरिष्ठे' उपनामले परिचित उनले बोल्ने थेगो 'हजुर वरिष्ठ हस् त नमस्ते' दर्शकमाझ अहिले पनि चर्चित मानिन्छ।