बैशाख ९, २०८१ आइतबार

काठमाडौं : केही महिनाअघि घोषणा गरिएको आइफोनद्वारा खिचिएको चलचित्र 'अ प्लेस अन्डर द सन' विदेशी एप्पल टीभी, पराइम टीभी, पीक जस्ता अमेरिकी प्लेटफर्ममा रिलिज हुने भएको छ।

नेपाली नयाँ वर्षको अवसर पारेर इस्स्क्वाड फिलिम्सले फिल्म घोषणा गरेको हो।  फिल्मका सबै दृष्य आइफ़ोनले खिचिएका हुन्। फिल्ममा जेसन लोप्चनको लेखन तथा निर्देशन छ।

यस फिल्मको छायांकन सकिएपछि नेपालका हलहरूमा रिलिज गर्न खोजिए पनि सबै कलाकार नयाँ र आइफ़ोनले खिचिएका कारण हलसम्म पर्‍याउन नसकिएको निर्देशक लोप्चनले बताए। हलसम्म फिल्म पुर्‍याउन आफूसँग बजेट पनि नभएको उनले बताए। जसका कारण बाहिरी स्ट्रिमिङको बाटो रोज्नुपरेको उनको भनाइ छ।

फिल्ममा प्रविन लिम्बूको छायांकन, प्रज्वल खड्काको ध्वनि छ। इस्स्क्वाड फिलिम्स मुख्य निर्माता रहेको फिल्ममा 'हाम्रो पात्रो', 'पठाओ', 'फ्रान्कलिन एजुकेसन' सहायकका रूपमा छन्।

फिल्ममा मिन घलान, विप्लव गौली, अंशु शर्मा, प्रजन पौडेल, मीरा गुरुङ, प्रवेश एमसी, रिदेन श्रेष्ठ र विकाश सुवेदीलाई कलाकारका रूपमा देख्न सकिनेछ।

अपराधलाई मुख्य विषय बनाएर फिल्म बनाइएको निर्माण पक्षले जनाएको छ। फिल्म जुलाई २०२४ मा रिलिज हुने जनाइएको छ।