बैशाख २०, २०८१ बिहिबार

काठमाडौँ, २० वैशाखः ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनलको विजेता बने।

प्रतियोगिताको अर्को उपाधि मिस ग्लोब नेपाल मोनिका अधिकारीले हात पार्दा मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितिन्। त्यस्तै पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन्।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्वमिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्।

महिला र पुरुष मोडलहरू संयुक्त रूपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरू सहभागी थिए। फिनालेमा विभिन्न २० वटा विधामा प्रतिस्पर्धा भएको थियो।

दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनालेको मुख्य जुरीको भूमिका डा सन्तोष उपाध्याय, प्रिया सिग्देल, पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसालले निर्वाह गरेका थिए।

फिनालेअघि प्रतियोगीहरूले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्विम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए।

फिनालेमा विजेतालाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो।