बैशाख २५, २०८१ मंगलबार

काठमाडौँ, २५ वैशाखः प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार गीत सार्वजनिक गरेको हो । 

सो गीतमा हर्क साउदको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर र संगीत रहेको छ । फिल्ममा ‘दधिराम पोखरेल’को भूमिका निर्वाह गरेका प्रवीण खतिवडा र ‘तान्छो’को भूमिकामा रहेका बालकलाकार नेनाहाङ राईले सो गीतमा स्थान पाएका छन् । 

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन र लेखन रहेको यस फिल्ममा नेनाहाङलाई अभिनेत्री मिरुना मगरका छोराको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रविण, मिरुनासहित मेनुका प्रधान र दयाहाङ राईलाई प्रमुख भूमिकामा देख्न सकिन्छ ।

सकारात्मक ’वर्ड अफ माउथ’का कारण यस फिल्मले सुखद व्यापार गरेको छ । निसन्तान बुबा र एकल आमाबीचको प्रेम देखाइएको यस फिल्मले मोफसलमा दर्शकबाट विशेष साथ पाएको छ ।