जेठ ४, २०८१ शुक्रबार

काठमाडौँ, ४ जेठ : नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ । केही वर्ष यता ‘जात्रा’, ‘कबड्डी’ र ‘छक्का पञ्जा’ शृङ्खलाको व्यावसायिक सफलता यसका उदाहरण हुन् । हाँस्य शैलीको बढ्दो प्रभावले प्रेम कथानक चलचित्र निकै कम बनिरहेका छन् । 

    अन्य, विधामा नेपालमा चलचित्र बनाउन निर्माताले आँट नगरिरहेको बेला आउँदो बुद्ध जयन्तीलाई लक्षित गरी जेठ १० गते प्रदर्शन गरिने चलचित्र ‘फर्की फर्की’ मा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रमा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यसअगाडि यस्ता प्रयोग चलचित्रमा गरिएको छैन । 

    विश्व चलचित्रमा भने ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ विधालाई ल्याएनाँै भने एकै किसिमको मात्र चलचित्र बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग चलचित्रमा गरिएको छ ।”

    ‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ । चलचित्रमा माधव सिंह बस्नेतको भूमिकामा अभिनेता अनमोल केसी देखिनुभएको छ । 

    अभिनेता केसीले यो प्रेम कथानक चलचित्र युवाका लागि आकर्षण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो पात्रले गल्ती गरिरहँदा त्यो समयलाई पार गर्न सक्दैन । त्यही समयमा ऊ फर्की फर्की आइपुग्छ । त्यो एक किसिमको शक्ति हो । टाइम लुपका कारण चलचित्रको पात्रलाई प्रभाव पारेपछि यसले झनै रोचक बनाउँछ ।” 

    अभिनेता केसीले अधिकांश प्रेम कथानक चलचित्रमै अभिनय गर्नुभएको छ । त्यसकारण यसपटक भिन्न देखाउन केसी समहत हुनुभएको हो । यो उहाँको दसौँ चलचित्र हो । “मैले अभिनय गर्न थालेको दश वर्ष पुगेको छ । यो मेरो लागि सुरुआत नै हो । आफ्नै विधामा रहेर अबको पुस्तालाई नयाँपन दिन खोजेका हौँ”, अभिनेता केसीले भन्नुभयो । 

    उहाँको पछिल्लो चलचित्र ‘छड्के २’ असफल भएपछि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै अभिनेता केसीले आगामी चलचित्रमार्फत पुनः सुरुआत हुने घोषणा गर्नुभएको थियो । यस चलचित्रमा उहाँले अभिनेत्री जसिता गुरुङसँग ‘स्क्रिन शेयर’ गर्नुभएको छ । अभिनेत्री गुरुङले चलचित्रले युवापुस्ताको प्रेम, आकर्षण र समस्यालाई चित्रण गरेको बताउनुभयो । “यो चलचित्रमा अहिलेको पुस्ताको सम्बन्धमा देखाइने विषय देखाइएको छ”, उहाँले भन्नुभयो, “यसले अभिभावकलाई नयाँ पुस्ता बुझ्न मद्दत पुग्ने छभने युवायुवतीलाई एकआपसको समस्या बुझ्न र सुल्झाउन मद्दत पुग्छ ।” 

    रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा अभिनेता केसी र अभिनेत्री गुरुङसँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्माता अधिकारीले निर्माणका क्रममा कुनै सम्झौता नगरिएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “अहिले डिजिटल प्लेटफर्मका कारण नेपाली दर्शक विश्वका चलचित्रसँग साक्षात्कार हुनुहुन्छ । त्यसकारण हामीले यसको निर्माणमा सम्झौता नगरेर दर्शकका लागि काल्पनिक संसार बनाउने कोसिस गरेका छौँ । नेपाली बजार, प्राविधिकलाई ध्यानमा राखेर हामीले एक कदम माथि उठेर काम गरेका छौँ ।”

    चलचित्रको नरेन्द्र मैनालीले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूले सङ्गीत सिर्जना गर्नुभएको छ ।