देउखुरी (दाङ), ६ असार : घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भैँसी पाल्दै आउनुभएको छ । उहाँले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपक्षी नामको फार्म दर्ता गर्नुभएको छ । दुई दशक दुबईमा बसेर फर्कनुभएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गर्नुभएको छ । उहाँले ३६ भैँसीबाट व्यवसाय सुरु गर्नुभएको हो । उहाँले दूध दिँदासम्म भैँसी आफै राख्ने गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पु¥याउने गरेको छु २८ लिटर दूध ७५ रुपैयाका दरले तुलसीपुर –१८ दुधरासको डेरीबाट किनेर एक सय रुपैयामा बिक्री गर्ने गरेको छु । ”
महिनाको ३० हजार भँैसीको दानापानी र अन्य खर्च कटाउँदा तीनलाख ४० हजार महिनामा आम्दानी हुने गरेको उहाँले बताउनुभयो । आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहाकलाई घरघरमा पु¥याउने गरेको उहाँँले बताउनुभयो । आफ्नो काम गर्न लाज मान्नुहुदैन । पसिनाको कमाइ मिठो हुन्छ ।
उहाँले सबै भैँसीको बीमा गर्नुभएको छ । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल रु चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताउनुभयो । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गतवर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उहाँले बताउनुभयो ।
रु बीस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताउनुभयो । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नुपर्दैन”उहाँले भन्नुभयो । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गर्नुभएको छ । आफ्नै लगानीमा सबै खर्च गरेको उहाँले बताउनुभयो ।
कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन उहाँले भन्नुभयो । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उहाँ बताउनुहुन्छ । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उहाँले बताउनुभयो ।
व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पाल्नुभएको छ । उहाँसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उहाँले बताउनुभयो ।