असार २६, २०८१ बुधबार

सत्ता सहकार्यको समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमाले शक्ति बाँडफाँटमा घनीभूत संवादमा छन् । असार १७ को मध्यराति संसदको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले अहिले मन्त्रालयको भागबण्डा केन्द्रित छन् ।

असार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । त्यसअघि नै मन्त्रालयको भागबण्डा टुङ्ग्याउन कांग्रेस र एमालेको तयारी देखिन्छ ।

असार २० मा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र एमालेका नेताहरूबिच मन्त्राललय भागबण्डाबारे दुई वटा विषयमा सैद्धान्तिक सहमति भएको थियो । देउवा र ओलीबिचको उक्त छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।

एमाले र कांग्रेसबिच मन्त्रालय भागबण्डामा रस्साकसी नगर्ने र एकै पटक सबै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार ओलीले अर्थ मन्त्रालय आफ्नै पार्टीले सम्हाल्ने सङ्केत गरेका थिए ।

उनले भने, ‘अर्थ मन्त्रालय चाहिन्छ भन्ने उहाँ (केपी ओली)को कुरा थियो । तर, भागबण्डा मिलाउन बाँकी नै छ । नेताहरू बसेर काम गरिराख्नु भएको होला ।’

ओली नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने नेताहरू बताउँछन् । अहिलेसम्मको छलफलमा कांग्रेस र एमाले बाहेकका दललाई सरकारमा सहभागी गराउने विषय प्रवेश भएको छैन ।

नयाँ सरकारमा जान राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायत इच्छुक छन् । कांग्रेस सभापति देउवाले असार १८ मा विपक्षी खेमामा रहेका साना दललाई आफ्नो निवास बोलाएर एमालेसँगको सहमतिबारे बिफ्रिङ गरेका थिए । त्यसपछि कांग्रेस र एमालेले आफूहरूसँग छलफल नगरेको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ बताउँछन् ।

कांग्रेस संसदीय दलका प्रमुख समेतक लेखकले प्रधानमन्त्री प्रचण्डले विश्वासकै मत लिन तीन–चार दिन बाँकी रहेकाले यसबिचमा सबै दलसँग छलफल हुने बताए । ‘राष्ट्रिय सहमतिको सरकार बनाउने भनेपछि सबै दलसँग छलफल हुन्छ । हामी छलफलमै छौँ,’ उनले भने । नयाँ बन्ने सरकारमा कांग्रेस र एमालेले मन्त्रालय भागबण्डामा रस्साकसी नगर्ने नेताहरू बताउँछन् ।

कांग्रेस र एमालेबिच मन्त्रालय भागबण्डामा नयाँ विधि अपनाउने लेखकको भनाइ छ । उनका अनुसार ओली नेतृत्वको सरकारमा कांग्रेसले लिएका मन्त्रालय देउवाको नेतृत्वमा सरकार बन्दा एमालेले लिने गरी अहिले मन्त्रालयको भागबण्डा हुने छ ।

एमालेसँग मन्त्रालय भागबण्डामा धेरै रस्साकसी नहुने भए पनि कांग्रेसमा आन्तरिक शक्ति सन्तुलन मिलाउन सभापति देउवालाई हम्मेहम्मे छ । कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत नपाउने निश्चितजस्तै छ । यही साताभित्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएपछि मन्त्री प्राप्तिका लागि कांग्रेस सांसदहरूकोे दौडधुप चलिरहेको छ । सभापति देउवाका साथै आफू निकट प्रभावशाली नेताको घरमा कांग्रेस सांसदको घरदैलो चलिरहेको छ । कांग्रेसमा सभापतिका अलावा नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला पनि शक्ति केन्द्र मानिन्छन् । देउवा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन केन्द्रित छन् ।

कांग्रेस नेताहरूका अनुसार ओलीले एकै पटक सबै मन्त्री नियुक्त गरेर जाने सङ्केत देउवालाई दिएका छन् । ‘सबै मन्त्री एकै पटक नियुक्त गर्ने तयारी छ । किस्ता किस्तामा मन्त्री नियुक्त गर्ने कुरा राम्रो हुँदैन भन्ने ओलीजीको बुझाइ छ । सभापतिजी पनि त्यही अनुसार गृहकार्य गरिराख्नु भएको छ,’ कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई भने ।

ओलीले एमालेबाट मन्त्री छनोटमा कुनै समस्या नहुने भन्दै बेलैमा मन्त्रीको टुङ्गो लगाउन देउवालाई सुझाएका छन् । ‘विगतमा मन्त्री छनोट गर्दा हाम्रो पार्टीको गुटगत लफडा देखेर होला । ओलीजीले कांग्रेसबाट सरकार गठनसँगै मन्त्रीको नाम आओस् भन्ने चाहनु भएको देखिन्छ,’ ती पदाधिकारीले भने, ‘हाम्रो सभापतिजी पनि त्यसैमा लागिराख्नु भएको छ । कसलाई मन्त्री बनाउने भन्ने उहाँले एक खालको सोच बनाइ सक्नु भइसक्नु भएको होला ।’

पार्टीभित्र हुने छलफलहरू औपचारिकताका लागिमात्र हुने ती पदाधिकारीको बुझाइ छ । बुढानीलकण्ठ पुगेर फर्किएका सांसदहरूका अनुसार मन्त्री छनोटको ठोस मापदण्ड बनाउने मुडमा देउवा देखिएका छैनन् । देउवाका स्वकीय सचिव भानुका अनुसार मन्त्री छनोटको मापदण्डबारे केही दिनमा नेताहरूबिच छलफल हुने छ । ‘अहिलेसम्म केही छैन । मन्त्री छनोटको मापदण्ड बनाउन केही दिनमा नेताहरू बस्नुहुन्छ । अझै चार–पाँच दिन बाँकी नै छ,’ उनले भने ।

एमाले र कांग्रेसबिच सबै मन्त्रालयको टुङ्गो लागिसकेपछि पार्टीमा निर्णय हुने उनको भनाइ छ । ‘अहिलेसम्म एमाले र कांग्रेसका बिचमा मन्त्रालयको सबै टुङ्गो लागिसकेको छैन । एक–दुई दिनमा त्यो टुङ्गिएपछि पार्टीभित्र छलफल सुरु हुन्छ,’ भानुले भने, ‘एमालेले कुन कुन मन्त्रालय लिन्छ । कुन कुन पार्टी सरकारमा सहभागी हुन्छ भन्ने टुङ्गिएको छैन ।’

एमाले अध्यक्ष ओलीले एमालेबाट नयाँ अनुहारलाई मौका दिने सङ्केत गरेका छन् । कांग्रेसमा पनि महामन्त्री गगन थापाले नयाँ व्यक्तिलाई सरकारमा पठाउनुपर्नेमा जोड दिँदै आएका छन् । ‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए । कांग्रेसबाट मधेसी, थारू र दलित मन्त्री भएनन् । त्यसैले यसपटक समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ । पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिएर घरमै राख्नुपर्छ,’ उनको भनाइ छ ।

प्रचण्ड नेतृत्वको सरकारमा यसअघि सहभागी भएका मन्त्रीले यस पटक कांग्रेसबाट मौका नपाउने निश्चितजस्तै देखिन्छ ।