भेरीगङ्गा (सुर्खेत), २६ असारः जिल्लाको गुर्भाकोट नगरपालिका–१३ का गोविन्द ओली मुलुकमा रोजगारी केही भएन भन्दै १२ वर्ष पहिला वैदेशिक रोजगारीमा जानुभयो । विदेशमा परिवारसँग टाढा बसेर गरेको दुःख भन्दा स्वदेशमा केही गरे स्वरोजगार बन्न सकिने महसुस गरेपछि उहाँ तीन वर्ष विदेश बसेर गाउँ फर्किनुभयो ।
    विसं २०७२ देखि कृषि तथा पशुपालन पेसामा लाग्नुभएका ओलीले विसं २०७५ मा गुर्भाकोट–१३ मा ‘दाजुभाइ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी कृषिलाई व्यावसायिक बनाउनुभयो । 
                            
                                
                            
                                “मुलुकमै काम गरौँ भनेर धेरै ठाउँमा रोजगारी खोजेँ । रोजगारी नपाएपछि विदेश गएँ, विदेश गएपछि मात्रै थाहा भयो, यति दुःख स्वदेशमै गरे आफ्नै गाउँमा मनग्य आम्दानी गर्न सकिन्छ”, ओलीले भन्नुभयो, “स्वदेश फर्किएर व्यावसायिक रुपमा परिवारसँग बसेर तरकारीखेती र पशुपालन व्यवसाय गरिरहेको छु ।”
    कडा मेहेनत र सानो लगानीबाट सुरु भएको कृषि तथा पशुपालन व्यवसायले अहिले सन्तोषजनक प्रतिफल दिन थालेको ओलीले बताउनुभयो । “उत्पादनमा जोडिएर राम्रो आम्दानी गर्ने किसानलाई सरकारले पनि सहयोग गर्दोरहेछ”, ओलीले भन्नुभयो, “मेरो व्यवसायप्रतिको लगाव देखेर कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।” 
    सरकारी निकायबाट सहयोग र हौसला पाएपछि व्यवसायलाई बढाउँदै लगेको ओलीको भनाइ छ । हाल ३९ रोपनी जग्गामा एकीकृत कृषि तथा पशुपालन व्यवसाय गर्दै आएको उहाँले जानकारी दिनुभयो । ओलीले अहिले १० वटा भैँसी, ड्राइगनखेती, चैते र बर्खे धानखेतीका साथै व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । वार्षिक रु ३० लाख सम्मको आम्दानी गर्ने उहाँले नौजनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । 
    “कुनै बेला म आफैँ रोजगारी छैन भन्दै विदेशिएको थिए”, ओलीले भन्नुभयो, “अहिले मैले नौजनालाई प्रत्यक्ष रोजगारी दिएको छु भने कर्मचारीको तलबदेखि सबै खर्च कटाएर वार्षिक रु ३० लाख बचत हुने गरेको छ ।” मासिक रुपमा तलबमा मात्रै रु दुई लाख खर्च हुने गरेको उहाँले बताउनुभयो ।
    ओली जिल्लाकै उत्कृष्ट नमूना किसानका रुपमा छनौट भई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित हुनुभएको छ । पुरस्कृत भएपछि ओलीले भन्नुभयो, “कृषि पेसालाई पनि सम्मानित पेसाका रुपमा हेरिँदो रहेछ । यसले मजस्ता किसानलाई थप हौसल मिलेको छ, अब विदेश होइन, स्वदेशमै केही गरौँ ।” 
    गोविन्द ओलीजस्तै व्यावसायिक कृषिमा लाग्नुभएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत पनि मुख्यमन्त्री उत्कृष्ट किसानबाट सम्मानित हुनुभएको छ । बस्नेतले व्यावसायिक रुपमा पशुपालन र च्याउखेती गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  
    दुर्गा पशुपक्षी तथा च्याउ फार्म सञ्चालन गरी मनग्य आम्दानी गरिरहनुभएका बस्नेतले सातजनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । उहाँले भन्नुभयो, “कृषि र कृषक पनि सम्मानित पेसा हो, यही कुरा स्थापित गरी युवालाई स्वदेशमै स्वरोजगार बनाउन तीनै तहका सरकरले पभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । यही पेसाबाट सातजनाले रोजगारी पाउनुभएको छ ।” विदेशमा गएका व्यक्तिलाई मुलुकमा आएर उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको सुझाव छ । 
    “धेरै मानिसहरु अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् जसले गर्दा हाम्रो पुँजी चलयमान हुन सकेको छैन । त्यसैले उत्पादनमुखी क्रियाकलाप गरौँ, विदेशतिर होइन, स्वदेशमा पनि सम्भावना छ भनेर खोजौँ मेरो सुझाव छ”, बस्नेतले भन्नुभयो ।
    उत्कृष्ट किसानका रुपमा छनौट हुनुभएका वीरेन्द्रनगर–३ का श्याम कृषि फार्मका सञ्चालक श्याम पुरी पनि पुरस्कृत हुनुभयो । पुरीले तीन हेक्टर जमिनमा व्यावसायिक तरकारीखेती गरिरहनुभएको छ । उहाँले वार्षिक रु २० लाखसम्म आम्दानी हुने बताउँदै पाँचजनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको जानकारी दिनुभयो । 
    “कृषिमा पनि राम्रो आम्दानी छ । यो क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले पनि लगानी बढाइरहेको अवस्थामा उत्पादनमा जोडिन सके स्वरोजगार बन्न समस्या छैन । आफूसँगै मुलुकलाई कृषिका माध्यमबाट आत्मनिर्भर बनाउन सकिन्छ”, पुरीले भन्नुभयो । 
    लामो समयदेखि कृषि कर्ममा लागेका किसानलाई कृषि निर्देशनालयमार्फत सीप, प्रविधिको सहयोग हुँदा एकातिर कृषि उत्पादनमा वृद्धि भएको छभने अर्कोतर्फ किसान व्यावसायिक खेतीतर्फ आकर्षित बन्दै गएका छन् । 
    कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले भन्नुभयो, “किसानलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ । विशेषगरी सीप, प्रविधि र राम्रो गर्ने किसानलाई अनुदानको व्यवस्था गरिरहेका छौँ । जसले गर्दा विगतका वर्षभन्दा कर्णालीमा उत्पादन बढ्दै गएको छ ।” पछिल्लो समय विदेशबाट फर्किएर आएका युवालाई स्वदेशमै उत्पादनमा जोड्नेगरी योजनाहरु बनाइएको भन्दै उहाँले उत्पादनमा लाग्ने किसानलाई सदैव सहयोग गरिने बताउनुभयो । 
    कर्णाली प्रदेश सरकारले पछिल्लो समय कृषिमा उत्पादन वृद्धिको योजना बनाइएको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 
    “स्वदेशमा कृषि पेसामा लागेर रु ३० लाखसम्म कमाई गरेर पुरस्कृत हुनुभएका किसानले सबैलाई प्ररणा दिनुका साथै यो पेसामा लाग्न हौसला दिएको छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सबै युवाहरु स्वदेशमै उत्पादनमा जोडिनुपर्छ । गर्न सके स्वदेशमा पनि धेरै सम्भावना छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएसँगै कृषिसँग सम्बन्धित क्रियाकलाप गर्न वास्तविक किसानसम्म पुग्ने उहाँको भनाइ छ ।
    सुर्खेतमा दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर जमिन खेतीयोग्य छ । यसको प्रयोग गरी स्वदेशमै रोजगारीका अवसर सृजना हुनेगरी बनेका सरकारी नीति कार्यक्रम र बजेटको कार्यान्वयन हुनुपर्ने सरोकार भएकाहरु बताउछन् ।