असार ३०, २०८१ आइतबार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा थोक तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ । वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी–पहिरोको कहरका कारणले दैनिक उपभोग्य वस्तुसँगै तरकारीको मूल्य निरन्तर उकालो लाग्न थालेको हो ।

आज ठुलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो ११५ रुपैयाँ छ । यस्तै भारतीय ठुलो गोलभेँडाको मूल्य ११५ रुपैयाँ नै कायम छ । सानो टनेल गोलभेँडा प्रतिकिलो ५५, रातो आलु ५६ रुपैयाँ छ भने सुकेको भारतीय प्याज ९२ रुपैयाँ छ ।

यस्तै गाजर प्रतिकिलो ९५ रुपैयाँ, बन्दा २७ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ र लाम्चो भन्टा ७५ रुपैयाँ कायम छ । बोडी प्रतिकिलो १२५ रुपैयाँमा किनबेच भइरहँदा घिउ सिमीको थोक मूल्य २१० रुपैयाँ कायम छ ।

टाटे सिमी प्रतिकिलो ९५ रुपैयाँमा कारोबार हुँदा तिते करेलाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यस्तै लौका ७५ रुपैयाँ, परवर ७५ रुपैयाँ, चिचिन्डो ७५ रुपैयाँ, घिरौँला ९५ रुपैयाँ छ । यसबाहेक रायो साग १२६ रुपैयाँ प्रतिकिलो, हरियो प्याज १३३ रुपैयाँ कायम रहेको समितिले जानकारी दिएको छ ।