बार्सिलोना । एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको छ । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरू आएर सिधै मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका पत्रकार शर्माले भने, ‘छेउको ढोकाबाट अचानक ४/५ जना युवाहरू सिधै मतपेटिकातर्फ अघि बढे । त्यहाँ तरल पदार्थ के हाले । पानी वा केही हाले । कसैले मतपेटिका तोड्न शुरु गरे । मतपत्रहरू भुईँमा छताछुल्ल भयो । तबमात्र हामीलाई अब के हुँदैछ भन्ने थाहा भयो। बल्ल हामी एए भनेर उठ्न थाल्यौ।’
मतदाताहरू आउने मुख्य ढोकालाई प्रयोग नहुनु साथै छेउको ढोका खुल्ला राख्नु लापरबाही भएको भन्दै पत्रकार शर्माले शंकास्पद गतिविधि देखिएको बताए। शर्माले भने, ‘मतदान केन्द्रमा रहेको एक पक्ष मतपत्र बचाउनतर्फ लाग्यो अर्को पक्ष मतपत्र च्यात्नतर्फ लाग्यो। प्रत्यक्ष हेर्दा त्यहाँ यही दृश्य देखिन्थ्यो। निर्वाचन बिथोल्न र आक्रमणको लागि ती युवाहरूलाई प्रयोग गरिएको भन्नेमा कुनै शंका नै छैन।’
मतदान केन्द्रमा रहेका अधिकांश नेपाली युवाहरू सो आक्रमणको प्रतिकारमा उत्रिएका थिए । पत्रकार शर्माका अनुसार सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको हो। उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्याइए पनि २-३ घण्टापछि घर फर्किएका थिए।