फागुन २०, २०७७ बिहिबार


काठमाण्डौ।
साताको अन्तिम कारोबारको दिन भने नेप्सेमा सुधार देखिएको छ । साताभरी नै निरन्तर ओरोलो लागेको सेयर बजारमा कारोबारको अन्तिम दिन आज  भने सुधार देखिएको छ ।   सरकार र नेकपा विप्लव समूहबीचको आज वार्ता सफल भएसँगै सेयर बजार सकारात्मक देखिएको छ । विप्लव समूहले सरकारसँग तीन बुँदे सहमति गर्दै हिंसा छाड्ने सहमति गरेको छ । यससँगै बिहीबारबाटै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । 

आज नेप्से परिसूचक ९० अंकले बृद्धि भएको छ । यसदिन नेप्से ३.७५ प्रतिशतले बढेर २५०६.६८ मा बन्द भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ ले अंक बढेको छ ।समग्र नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने कमी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकममा कमी आएको हो ।

बुधबार कुल ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर कारोबार भएकोमा बिहीबार कुल ६ अर्ब ५ करोड ८१ लाख ४ हजार बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर कारोबार भएको हो । 

बिहीबार २०६ ओटा कम्पनीको ६५ हजार १७४ पटकको व्यापारमा उक्त रकम बराबरको सेयर कारोबार भएको हो । बिहीबार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ ।

पछिल्ला कारोबार दिनहरुमा करेक्सन भइरहेको नेप्से, यस दिन उकालो लागेको विश्लेषकहरु बताउँछन् । अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लागेको उनीहरुको भनाइ छ ।