भदौ २६, २०७८ शनिबार

नेपालमा २०४६ सालपछिको इतिहासलाई मात्रै अगाडि राख्दा पनि विभिन्न बहानामा सामाजिक बहिष्कार गर्ने, अमानवीय काण्ड गर्ने र क्रूरतापूर्वक उत्पीडन गरिएका तमाम घटनाहरू देखिन्छन् । यी र यस्ता अमानवीय हर्कतका कारण तमाम मान्छेले दु:ख भोगेका छन् । यस्ता घटनाहरू शहरभन्दा पनि गाउँमा अधिक् हुने गरेका छन् ।

कतिपय घटनाहरू त न्यायको पहुँचसम्म पुगेका हुन्छन् भने कतिपयलाई बीचमै तोडमोड गरेर ढाकछोप गर्ने गरिएको हुन्छ । जसका कारण पीडितको पीडा थप गहिरो गरी गडेको छ । त्यो पीडाको घाउ नपुरिने खत भएको छ ।

समाजमा यस्ता समस्या किन उत्पन्न भए होला ? यसका बारेमा गम्भीर सिंहावलोकन जरुरी छ ।

यस्तैयस्तै सामाजिक परिवेशलाई समेटेर अहिले टेलिसिरियल 'मैना' प्रसारण भइरहेको छ । मैनाले युट्युबमा ५ वटा एपिसोड सफलतापूर्वक पार गरिसकेको छ । निकै छोटो समयमा नै मैनाले दर्शकको मन जित्न सफल भएको छ ।

विष्णु रिजालले निर्माण गरेको यो टेलिसिरियल युट्युबमा 'मैना अफिसियल'बाट प्रत्येक शुक्रबार प्रसारण भइरहेको छ ।

सासुले बुहारीलाई हेप्ने, खाना नदिने, नातिनीलाई हेप्ने, छोरी मान्छेले पढ्नुहुँदैन भनेर बालापनमै कठिन काममा पेलाउनेलगायतका घटनाहरू अझै पनि समाजमा देखिने गरेका छन् । यस्ता घटनाहरू अब हुन नदिनाका लागि मैनाले जनचेतना फैलाउँदै आएको कलाकार सृष्टि दुलालले नेपालमार्गलाई बताइन् । दुलाल यसमा मैनाको भूमिकामा छिन् । उनले निकै पीडा भोगे पनि आफ्नी आमालाई अधिक् माया गर्ने सन्तान र हरेक समस्यासँग जुध्नसक्ने पात्रका रूपमा अभिनय गरेकी छिन् ।

कामको सिलसिलामा हाल युवाहरू विदेशिएका छन् । विदेश गएकाहरू वर्षौँसम्म घर आउन नपाउँदा गाउँमा श्रीमती र सन्तानलाई हेर्ने नजर कस्तो हुन्छ भन्ने पनि यसमा देखाइएको दुलाल बताउँछिन् । दुलाललका अनुसार ती र त्यस्ता विचारहरूका कारण कोही कसैले पनि अनाहकमा पीडा भोग्न नपरोस् भनेर मैनाले समाजमा चेतना फैलाउँदै गएको छ ।

दुलाल भन्छिन् : जनचेतनाले नै देशको विकास हुन्छ

कुनै पनि कुरालाई कतातिर डोर्‍याउने भन्ने त्यो चेतनाले नै निर्धारण गर्दछ । चेतनशील प्राणीले हरेक कुरालाई सही र वस्तुगत ढङ्गले मानवीय हित अनुकुल प्रयोग गर्दछ । उसले समाजमा घट्ने नराम्रा कुराहरूलाई त्यागेर त्यसका ठाउँमा सकारात्मक कुराको सञ्चार गर्दछ ।

दुलाल भन्छिन्: हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष चेतनामा निर्भर हुने भएकाले मानवीय चेतना सकारात्मकताका लागि सञ्चार हुनुपर्दछ । अहिलेसम्म अचेतनाका कारण नकारात्मक उर्जा उत्पन्न भई यो दुर्गति भएको हो । समाज विकास हुनुको साटो झन् पछौटेपन व्याप्तियो । अब प्रत्येक व्यक्तिले आफूभित्रको सकारात्मकतालाई बाहिर ल्याएर समाज र देशको विकासमा अग्रसर हुनुपर्छ ।