भदौ २९, २०७८ मंगलबार

एजेन्सी - उत्तर कोरियाले सोमबारमात्रै लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् ।

टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।’

तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरू आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेका छन् ।

स्मरण रहोस् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग दुई वर्ष अघि कुराकानीको कोसिस गरेका थिए तर त्यसमा खासै सफलता हासिल गर्न सकेन ।