असोज ५, २०७८ मंगलबार

काठमाडौं, भदौ ५
मल नल्याएर देशभरका किसान सताएका ठेकेदार हुमनाथ कोइरालाले आफ्नो कम्पनीको सेयर अर्कैको नाममा सारेका छन्।  उनी सञ्चालक रहेको होनिको मल्टिपल कम्पनी निर्मला शर्माको नाममा सारिएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार २०७७ कात्तिक ५ गतेदेखि लागू हुने गरी कोइरालाले शर्माको नाममा सेयर सारेका हुन्। 

कार्यालयका अनुसार कम्पनी रजिष्ट्राको कार्यालयमा होनिको मल्टिपलले २०७७ कात्तिक ३ गते निवेदन दिएको थियो।  कम्पनीको तर्फबाट कोइरालाले सेयर बिक्री निवेदन दिएको र शर्माको खरिद गर्न पाउँ भन्ने ४ गतेको निवेदनअनुसार होनिको मल्टिपल शर्माको नाममा पुगेको देखिन्छ। 

जतिबेला कोइरालाले सेयर बिक्री गरेका थिए, त्यतिबेला उनको कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। 
खरिद अनुगमन कार्यालयले होनिको र त्यसका मुख्य व्यक्ति भनी कोइरालाको नाम किटान गरी एक वर्षसम्म कालोसूचीमा राखेको थियो। 

उनै कोइरालालाई संविधान दिवसको अवसर पारेर असोज ३ गते सरकारले प्रवल जनसेवा श्री विभूषणले सम्मान गर्ने निर्णय गरेको थियो। उनको नाम विभूषणमा परेपछि मल नल्याएर जनता सताउने व्यक्ति पनि पुरस्कृत भएको भन्दै आलोचना भइरहेको छ। 

२०७७ वैशाखमा पचास हजार मेट्रिक टन मल खरिदको प्रक्रिया सुरू गरिएको थियो। होनिकोले २५ हजार मेट्रिक टन मल ल्याउने जिम्मा पाएको थियो।  तर, मल नल्याएर देशभर किसान आन्दोलन सुरू भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले उनको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

No description available.