असोज ११, २०७८ सोमबार

जर्मनीमा भएको चुनावमा सेन्ट्रल लेफ्ट पार्टी एसपिडी (सोसल डेमोक्र्याट्स) सबैभन्दा ठूलो दल बनेर उदाएको छ।

आइतबार भएको चुनावको मतगणना अन्तिम चरणमा पुग्दा एसपिडी झिनो अग्रता लिन सफल भएको हो। चान्सलर एङ्गेला मर्केलको पार्टी क्रिष्टियन डेमोक्र्याट्स (सिडियू) भने खराब प्रदर्शन गर्दै दोस्रो स्थानमा देखिएको छ। चार कार्यकालपछि मर्केल जर्मनीको नेतृत्वबाट हट्दै छिन्। उनी सन् २००५ देखि जर्मनीको चान्सलर रहँदै आएकी छन्।

संघीय संसदका २९९ मध्ये १९१ सिटको परिणाम आउँदा ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी अघि देखिएको छ। मर्केलको पार्टी सिडियूले चान्सलरका रुपमा आर्मिन लाशेटलाई प्रस्तुत गरेको छ।

मत परिणाम अन्तिम चरणमा पुग्दा एसपिडीले २५.८, सिडियूले २४.३, ग्रिन पार्टीले १४.६, एफडिपीले ११.५, एएफडीले १०.४, लिन्कले ४.८ तथा अन्यले ८.७ प्रतिशत सिटमा जीत हासिल गरेका छन्।

एसपिडीका नेता ओलाफले जर्मनीका जनताले सरकारमा परिवर्तन चाहेको स्पष्ट म्यान्डेट दिएको बताएका छन्। अबको सरकारको नेतृत्व आफूहरुले नै गर्ने उनले बताएका छन्। तर इतिहासमै खराब चुनावी नतिजाका बाबजुद सिडियूका आर्मिनले आफूहरुले सरकार बनाउने दाबी गरेका छन्।

सरकार बनाउनका लागि एसपिडी वा सिडियूले अरु दलसँग गठबन्धन गर्नुपर्ने छ। बहुमतका लागि अरु दलसँगको सहकार्यमा सरकार बनाउनुको विकल्प छैन। एसपिडी र सिडियूमा निकै कमको भिन्नता रहेकाले दुवैले सरकार बनाउने दाबी गरिरहेका हुन्।

सरकार गठनका लागि गठबन्धन नबन्दासम्म मर्केल नै सत्तामा हुने छिन्। नयाँ सरकारको गठबन्धन बन्नका लागि आउँदो क्रिस्मससम्म लाग्न सक्ने छ।

अबको सरकारलाई मर्केलले विगत १६ वर्षदेखि हाँक्दै आएको युरोपको ठूलो अर्थतन्त्रको नेतृत्व गर्नु पर्नेछ।