असोज ११, २०७८ सोमबार

रोग नियन्त्रण तथा रोकथाम विभाग कोरियाका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ। यससँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या  तीन हजार नाघेको छ।

शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो। शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन् भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन्।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ। हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ। सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ। रासस