काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरिएको छ । सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ । बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ ।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकविरुद्ध कारबाही सुरु गरेको हो ।
उता सेवा प्रदायक कम्पनीहरूले भने यसविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा उनीहरूले भेला गरी संघर्ष समिति गठन गरेका हुन् । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र पनि बुझाएका छन् ।